महोत्तरीको एघार स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषित

Posted on: 23 Aug, 2019

 भदौ ६, महोत्तरी ।  जिल्लाका ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गरिएका छन् । पछिल्लोपटक मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि स्थानीय तहको सङ्ख्या ११ पुगेको हो । 

भदौमा महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको मटिहानी नगरपालिका क्षेत्रमा पाँच हजार २२७ घरधुरी छन् ।

जिल्लाका १५ स्थानीयतहमध्ये अब मटिहानीसहित भङ्गाहा, बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र मनराशिशवा नगरपालिका एवं महोत्तरी, सम्सी, सोनमा र पिपरा गाउँपालिकासमेत ११ स्थानीय तह खुला दिसामुक्त क्षेत्र भएका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलेले जनाएको छ । 

अब जिल्लाका औरही, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा गाउँपालिका मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । बाँकी स्थानीय तहमा शौचालय निर्माण र सरसफाइसम्बन्धी काम अघि बढेकाले भदौ मसान्तभित्रै जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खानेपानी  सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो । 

जिल्लाका १५ स्थानीयतहमा कूल एक लाख ११ हजार ३४ घरपरिवारमध्ये अब शौचालय नहुने घर तीन अङ्कमा झरेको छ । अब ७०० हाराहारी घरमा मात्र शौचालय बन्न बाँकी रहेका अध्यक्ष सिंह बताउनुहुन्छ । जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपालसहितका अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक सङ्घसंस्थाले जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!