रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीसंगै सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा आजै थुनछेक बहस भएको थियो ।

गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!