मोटरसाइकल चोरी मुद्दाका आरोपित हत्कडी खोलेर भागे

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुईजना फरार भएका छन् । प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु ५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो । 

पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा मंगलबार थानकोटबाट उनीहरु भागेको जनाइएको छ ।

रामेछापको लिखु तामाकोशी-१ घर भइ टेकु बस्ने रविन नेपाली र मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार भएका हुन् । बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएको  महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ | 

सूचना प्राप्त भएलगत्तै खटिएको टोलीले नेपालीलाई भने पक्राउ गर्न सफल भएको छ । उनी थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ | पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!