भक्तपुर क्यान्सर अस्पतालमा सबै प्रकारका रोगको शल्यक्रिया सेवा शुरु

Posted on: 27 Aug, 2019

भदौ १०, मध्यपुरथिमि । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगसँगै अन्य सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव प्राडा ऋषिकेशनारायण श्रेष्ठले यही भदौ १ गतेदेखि अस्पतालले सबै किसिमका रोगहरुको शल्यक्रिया सेवा शुरु गरेको जानकारी दिनुभयो । 

देशभरिका क्यान्सर रोगीहरुको उपचार गर्दै आएको अस्पतालले भक्तपुर नगरपालिकाका प्रमुखको अध्यक्षतामा गठन भएको अस्पतालको नयाँ व्यवस्थापन समिति आएपछि उच्च मनोबलका साथ काम गर्ने क्रममा यही भदौ १ गतेदेखि सबै रोगको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । 

उहाँले नयाँ व्यवस्थापन समितिले अस्पतालको सेवालाई सहज बनाएकाले क्यान्सरका बिरामीको चापसमेत बढेको बताउनुभयो । डाइरेक्टर प्राडा श्रेष्ठले भन्नुभयो, “नयाँ व्यवस्थापन समिति गठनपश्चात् अस्पतालका कर्मचारीहरुको मनोबल उच्चरूपमा बढेको छ, सबै कर्मचारीहरु खुशी र अझ लगनशील भई बिरामीको सेवामा कार्यरत छन्, बिरामीले सहज र सुलभरूपमा सेवा पाएका छन्, बिरामीको चाप पनि बढेको छ ।”

उहाँले अहिले दैनिक १० वटासम्म जटिल शल्यक्रिया हुने गरेको उल्लेख गर्दै नगरपालिकाको व्यवस्थापन आएपछि सहज ढङ्गले उपचार सेवा दिएको र बिरामीको उपचारमा कुनै बाधा अड्चन नआएको बताउनुभयो ।

 पहिला दैनिक ८० बिरामी भर्ना हुने गरेकामा हाल १२०  बिरामी भर्ना हुने गरेको, पहिला दैनिक पाँच जनासम्मको शल्यक्रिया हुने गरेकामा हाल आठदेखि १० जना बिरामीको जटिल शल्यक्रिया हुने गरेको र अस्पतालको शय्यासमेत अपुग भएको श्रेष्ठले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!