चितवनका एसपी मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौं | चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ ।

चितवन प्रहरीले नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको जनाएको छ । 

आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए । घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले जनाए । 

रवि लामिछाने पक्राउ परेसँगै रविका फ्यानहरुले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए । सो समयमा विभिन्न व्यक्तिहरुसँग नाम जोड्दै सामाजिक सञ्जालमा एसपी मल्लको आलोचना पनि भएको थियो । 

लगत्तै रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ (अगस्ट १६) मा एसपी मल्लको नाममा उक्त फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!