सडक विभागमा धर्ना दिन पुगे गगन थापा

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौं | प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य गगन थापा सडक विभाग पुल्चोकमा धर्ना दिन पुगेका छन् | उनीसहित प्रदेशसभा सांसद र स्थानीयले सो क्षेत्रका  १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् | आफुहरुले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएको उनको भनाई छ | चावहिल कपन लगायत काठमाडैं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको र सो म्यादमा २० प्रतिशत मात्रै काम भएको फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको  थापाले बताए |

केही समयअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेक्केदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । पत्र पठाएपनि त्यतिबेला उनीहरुलाई कार्वाही गरिएको थिएन । कार्वाही गर्नुको साटो कपन क्षेत्रमा खानेपानी आयोजना निर्माणको जिम्मेवारी पनि सडक अलपत्र पार्ने कम्पनीलाई नै दिइएको भन्दै उनीहरुले चर्को विरोध गरेका छन् ।

यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको सांसद थापाले बताए । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!