एटीएमबाट चिनियाँ नागरिकले चोरेको रकम साट्ने ३ नेपाली पक्राउ

Posted on: 02 Sep, 2019

भदौ  १६, काठमाडौं | चिनियाँ ह्याकर समूहले बोकेको डलर साट्ने कार्यमा संलग्न मनि एक्सेन्जका ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई केही सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको पुष्टि गरे । 

पक्राउ पर्नेहरुमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन् । प्रहरीका अनुसार उनीहरुले फरार रहेका चिनियाँ नागरिकको पैसा साटेका हुन् । 

शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकको बयानका आधारमा एटीएमबाट पैसा चोरेर भाग्दै गर्दा आइतबार साँझ एकजना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । अन्य दुई जना भने फरार छन् । उनीहरुले २५ हजार ८ सय डलर डेक्सो मनि एक्सेन्च र नेपाललय एक्सेन्जबाट साटेको खुल्न आएको थियो ।  घटनाबारे थाहा हुँदाहुँदै पनि उनीहरुले पैसा साटेर चिनियाँ नागरिकलाई भगाएको पाइएको प्रहरीको भनाई छ |

यसरी पैसा साट्नु गैरकानुनी भएको प्रहरीको भनाई छ ।  चिनियाँ नागरिकले साटेको २९ लाख ९९ हजार समेत प्रहरीले बरामद गरेको छ । हालसम्म विभिन्न बैंकको एटीएम सिस्टम ह्याक गरी पैसा चोरी गर्ने ९ जना पक्राउ परेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!