काठमाडौँमा भेटियो सेतो काग

Posted on: 03 Sep, 2019

भदौ १७, काठमाडौं | काठमाडौंको टोखामा सेतो काग भेटिएको छ | चराविद्सँगै यसको अध्ययनमा लागेकाहरू छक्क परेका छन् । चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग देखेको हो । स्थानीय टोखावासीका अनुसार उक्त सेतो काग ४/५ वर्षदेखि काब्रोको रूखमा गुँड लगाएर बस्दै आएको छ । कालाको हूलमा सेतो भएकाले स्थानीयले त्यसलाई काग नै हो भनेर पहिचान गर्न नसकेको पाइएको थियो |

टोखामा भेटिएको सेतो कागको प्वाँख सेतै भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन्। यसको आनीबानी र आहारा कालो कागको जस्तै छ। वंशाणुगत गुणमा अचानक आउने उत्परिवर्तन वा कालो बनाउने तत्त्वको कमीले काग सेतो रङको पाइएको भन्नेमा चराविद्बीच मतान्तर छ। 

‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुन हुनसक्ने अनुमान चराविदहरुले गरेका छन् | सेतो भेटिएको उक्त काग ‘लार्ज बिल्ड क्रो’ भनिने रैथाने कालो कागभन्दा रङमा मात्रै फरक छ। ठुँड, जीउको बनोट र आनीबानी सबै उस्तै छ। लन्डन जुलोजिकल सोसाइटीका नेपाल प्रतिनिधि चराविद् हेमसागर बराल पनि यसको अध्ययन आवश्यक रहेको बताउँछन् । ‘उत्परिवर्तन वा उसको प्राकृतिक रङ उत्पादन गर्ने तत्त्वको कमी भन्नेमा अध्ययन नगरी ठोकुवा गर्न सकिँदैन तर काग सेतो भेटिनु एकदमै अनौठो घटना होइन,’ उनले भने, ‘करिब २० वर्षअघि टेकुमा पनि त्यस्तो काग देखिएको थियो ।’ चराका अरू प्रजातिमा पनि बेलाबखत प्राकृतिकभन्दा फरक सेतो रङ पाइएका घटनाहरू बेलाबेला अध्ययनको विषय हुने गरेको उनले बताए । 

चराविद्हरूका अनुसार संसारमा कतै पनि सेतो रङका काग छुट्टै प्रजातिमा पाइएका छैनन्। अमेरिकी चराविद्हरूले सन् १९९८ मा फेला पारेको सेतो रङको कागको अध्ययन गर्दा रैथाने प्रजातिको भए पनि त्यसको जीउमा प्राकृतिक कालो रङ उत्पादन नभएर त्यस्तो भएको जर्नलहरूमा भेटिन्छ ।

अर्का चराविद् कृष्णप्रसाद भुसालका अनुसार नेपालमा घर काग, कालो काग (वन काग), टेमु, टुंगा र राजा काग गरी पाँच प्रजातिका काग पाइन्छन्। समूहमा बस्ने कागले आफ्नो क्षेत्र निर्धारण गरेर गुँड बनाउँछन्। गुँङ बनाएका ठाउँ छेउछाउ मानिस वा अन्य शत्रु जीव पुग्दा रिसाउने, ठुङ्न खोज्ने, आफ्नो परिवारलाई बोलाएर जोडजोडले कराएर धपाउने गर्छन्। 

बढ्दो सहरीकरण, प्रदूषण र फोहोरमैलासँग काग पनि अनुकूलित बन्दै गएको नेपाल पन्छी संरक्षण संघको अध्ययनले देखाएको छ। काठमाडौं उपत्यकाका २४ स्थानमा गरिएको सहरी चरा गणनामा अन्य प्रजातिहरू हराउँदै गए पनि काग भने बढ्दै गएका छन् | यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!