अर्घाखाँचीमा धारिलो हतियार देखाएर एक महिलाको गहना लुटपाट

Posted on: 05 Sep, 2019

भदौ १९, गुल्मी । माइतीबाट तीज मनाएर घर फर्किँदै गरेकी एक महिला बुधबार साँझ अर्घाखाँचीमा लुटिएकी छिन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका-७ देउराली बजार नजिकै धारिलो हतियार देखाएर लुटेरा समूहले ५१ वर्षीया सीता पौडेलको सुनको सिक्री, लकेट र मोवाइलसेट लुटेर लगेको प्रहरीले जनाएको छ । 

लुटिएको सुन करिब दुई तोला रहेको पीडित पौडेलले बताएकी छिन् । पौडेल सोही वडाको वाइगाउँ भन्ने स्थानबाट गुल्मीको रेसुङ्गा नगरपालिका–५ भुवनपानी आफ्नो घर तर्फ आउने क्रममा लुटेरा समूहले चक्कु देखाएर गरगहना लुटेको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

हतियार देखाउँदै लुटेरा समूहले पौडेलको साथबाट जबरजस्ती गरगहना खोस्ने क्रममा पोडैलको खुट्टामा सामान्य चोट लागेको विष्टले बताए । मंगलवार पनि अज्ञात समूहले सोही वडाका वडाध्यक्षले चढ्ने सरकारी मोटरसाइकलमा आगजनी गरेको थियो ।

आगजनी र लुटपाटका घटना बढेसँगै यस क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । लुटेरा समूह र आगजनी गर्ने गिरोहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!