मेलम्चीमा आन्दोलनकारीले तोडफोड गरेपछि, प्रहरी द्वारा दर्जनौँ सेल अश्रुग्यास प्रहार

Posted on: 05 Sep, 2019

भदौ १९, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । मेलम्चीको अम्बास्थानमा आन्दोलनकारीले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ |

प्रहरीका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर र एक दर्जनभन्दा बढी राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । 

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधान लगायतमा आक्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको प्रहरीको दाबि छ | मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला,लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।

भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आयोजना छाडेको निर्माण कम्पनी सीएमसीले दिनुपर्ने रकम भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेर आन्दोलन थालेका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!