भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

Posted on: 06 Sep, 2019

भदौ २०, काठमाडौं  । डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । 

सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।

काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ । २०७०/७१ मा ३०२ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन् । 

डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!