दोलखामा खोलाले कार बगाउँदा १ जनाको मृत्यु, २ घाइते

Posted on: 06 Sep, 2019

भदौ २०, दोलखा | दोलखामा गएराति खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो ।

सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल पनि कारसँगै बगेका थिए । उनीहरूलाई भने राति नै प्रहरीले उद्धार गरेको छ । विकज नेकपा दाेलखा जिल्ला अध्यक्ष तथा तामाकाेसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका कान्छा छोरा हुन् । 

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार सामान्य घाइते उनीहरूलाई अहिले थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । अविरल वर्षासँगै एक्कासि बढेको खोलाले कार बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!