पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन

Posted on: 10 Sep, 2019

खेमराज गौतम, भदौ २४, गलकोट ।  बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो ।  

पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुङ्गासम्म पदमार्गको रेखाङ्कन गरिएको छ । 

पदमार्गलाई विस्तार गरी ढोरपाटनसम्म पु¥याइनेछ । जिल्लाको पर्यटकीयस्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुङ्गासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।  भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोगका लागि समेत पदमार्ग रेखाङ्कन गरिएको छ । 

पदमार्गको ‘धौलागिरि चक्रपथ’ नामकरणसमेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुङ्गा पदयात्रा गरी पदमार्गको रेखाङ्कन गरिएको थियो ।

पञ्चकोटदेखि बेलढुङ्गा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखाङ्कन गरिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताउनुभयो । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ । 

“दुई पर्यटकीयस्थललाई जोडी ढोरपाटन शिकार खेल्न जाने बाह्य पर्यटकलाई पञ्चकोट हुँदै पदमार्गको माध्यमबाट ढोरपाटन पु¥याउने लक्ष्य हो”, कँडेलले भन्नुभयो, “पदमार्गमार्फत पर्यटक आवतजावत गर्दा पदमार्गले छोएका अन्य पर्यटकीयस्थलको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।” 

जिल्लाका सबै पर्यटकीयस्थललाई पदमार्गले जोड्न सकेमा मात्र बागलुङ पर्यटकको गन्तव्य बन्न सक्ने कँडेलको भनाइ छ । पञ्चकोट–बेलढुङ्गामा पदमार्गको जानकारी बोर्ड, उचाइ तथा सङ्केत राखी पदयात्रीलाई सहज बनाउन धौलागिरि चक्रपथ विकास समितिसमेत गठन गरिएको छ । काठेखोल–७ का वडाध्यक्ष प्रेम लामिछानेको संयोजकत्वमा पदमार्गले छोएका सबै स्थानीय तह सहभागी रहने गरी समिति गठन गरिएको हो । 

पदमार्गमा जोडिएका सबै स्थानीय तहलाई समेटेर पदमार्गको विकासका लागि लाग्ने धौलागिरि चक्रपथ विकास समितिका संयोजक प्रेम लामिछानेले बताउनुभयो । “अर्को वर्षसम्म पञ्चकोटदेखि बेलढुङ्गासम्म सजिलै हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गर्नेर्छौं”, लामिछानेले भन्नुभयो, “पर्यटक आउन थालेपछि पर्यटन मन्त्रालयको सहयोगमा ढोरपाटनलाई यही पदमार्गमा जोड्ने लक्ष्य छ ।” 

पदमार्गको विकाससँगै पदमार्गमा जोडिएका बेलढुङ्गा, संसारकोट, थाप्लेको धुरी, कान्छौ धौलागिरिलगायतका नयाँ पर्यटकीय गन्तव्यको विकास हुने चक्रपथ विकास समितिले जनाएको छ । पञ्चकोटमा दैनिक सयौँ पर्यटक आउन थालेपछि पञ्चकोट पुगेका पर्यटकलाई पदमार्गमार्फत सोझै ढोरपाटन पु¥याउन पदमार्गको पहिचना गर्न लागिएको हो । पञ्चकोट पुगेका अधिकांश पर्यटकलाई ढोरपाटन पु¥याउन सके जिल्लाले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्ने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताउनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!