महोत्तरीमा नीलगाई मृत फेला

Posted on: 10 Sep, 2019

भदौ २४,  जलेश्वर ।महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ । 

सर्पदंशका बिरामीको उपचारमा सहज

अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो । 

पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको इन्हुरेड इन्टरनेशनल संस्थाले हाइभ्याकुम सक्सेन यन्त्र केन्द्रलाई उपलब्ध गराएको छ । सो उपकरणबाट बिरामीको घाँटीमा बसेको कफ र फिज हटाउन सकिने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । सर्पले टोकेका बिरामीलाई घाँटीमा बस्ने कफ र मुखबाट निस्कने फिजले निकै गाह्रो पर्दै आएको थियो । 

यस्ता जटिल प्रकृतिका बिरामीलाई अब अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था अन्त्य भएको केन्द्रले जनाएको छ । सीमित साधन स्रोतभित्र पनि बिरामीको सेवा र उपचारमा केन्द्रले देखाउँदै तत्परता र समर्पण भाव देखेर अहिले तत्काल हाइभ्याकुम सक्सेन यन्त्र उपलब्ध गराइएको इन्हुरेड इन्टरनेशनलका महासचिव बिपी अधिकारीले बताउनुभयो । केन्द्रलाई अब जटिल प्रकृतिका बिरामीको उपचारमा भेन्टिलेटरको आवश्यकता रहेको केन्द्रका अध्यक्ष देवकोटाले बताउनुभयो । 

यसअघि केन्द्रलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्यऊर्जा गत वर्ष नै जडान गरिदिएको थियो । जडित सौर्य ऊर्जाले प्रकाश र औषधि भण्डारणमा सहयोग भएको केन्द्रले जनाएको छ । त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकै सहयोगमा सौर्यऊर्जा सञ्चय र प्रवाह गर्न १४.०४ केडब्लुएचआर क्षमताका १२ भोल्ट १५० एम्पियरका आठवटा ब्याट्री पनि जडान गरिदिएको छ । 

यसैगरी केही महीना पहिले बर्दिवासस्थित लक्ष्मी बैंकले केन्द्रलाई बिरामी सुताउने तीनवटा डिजिटल श्यया, अक्सिजन उत्पादन गर्ने अटोमेटिक यन्त्र र मनिटर यन्त्र उपलब्ध गराएको थियो । सभाहल, बिरामीकक्ष, प्राविधिक कक्ष र उपचारमा संलग्न हुनेको आवास सुविधासहितको दुईतले पक्की भवन तयार भएकाले अब तत्काल भेन्टिलेटर आवश्यक भएको अध्यक्ष देवकोटा बताउनुहुन्छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भएर सर्पदंशका बिरामीलाई उपचार सेवा दिँदै आएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् । यसबाहेक छिमेकको धनुषा जिल्लाको मिथिला, सर्लाहीको ईश्वरपुर र सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका बर्दिवासँगै साध जोडिएका हुँदा ती क्षेत्रबाट पनि सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!