पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द

Posted on: 11 Sep, 2019

भदौ २५, रसुवा | रसुवाको पासाङ ल्हामु राजमार्ग आज साँझदेखि पूर्णरूपमा बन्द भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अबिरल वर्षाका कारण आज साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको हो । 

सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान रहेको छ । राजमार्ग पूर्णरूपमा बन्द हुँदा एकातिर काठमाडौँ–रसुवाको सिधा यातायात सम्पर्क टुटेको छ । 

पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करीब १५ किमी दक्षिणमा रहेको छ । काठमाडौँबाट रसुवा आउने सवारीसाधनलाई कालिकास्थानमा र रसुवागढीबाट काठमाडौँ जाने सवारीसाधनलाई धुञ्चेमा रोकिएको ट्राफिक प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!