बैतडीको खोलामा बगेकी बालिका चमेलिया नदीमा मृत फेला

Posted on: 11 Sep, 2019

भदौ २५, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका आज चमेलिया नदीमा मृत फेला परेकी छन् । 

मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका–२ अमरखेतकी १० वर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीरसिंह चैसिरले जानकारी दिनुभयो । 

मङ्गलबार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी सोबीलाई खोलाले बगाएको थियो । गन्नीगाड खोलाले बगाएर बेपत्ता बालिकाको खोजी गर्दै जाँदा आज साँझ डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा मृत फेला परेकी हुन् । 

पुर्चौडीमा सडक दुई महीनादेखि अवरुद्ध 

बैतडीको पुर्चौडी नगरपालिकाअन्तर्गतका शाखा सडक गएको दुई महीनायता अवरुद्ध रहेका छन् । वर्षात्का कारण अवरुद्ध बनेका सडक अझै सञ्चालन हुन सकेका छैनन् । 

नेपालीहरुको मुख्य चाड विजयादशमी नजिकिँदै जाँदासमेत स्थानीय सरकारले अवरुद्ध ती सडक पुनःसञ्चालन गर्न कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ । ढोल्यामोडदेखि पुर्चौडीको मुख्यबजार हाटसम्म नियमितरूपमा यातायात सञ्चालनमा रहे पनि शाखा सडक अवरुद्ध रहेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिनुभयो ।  

हाट–साँफेबजार, हाट–नकाली, हाट–भूमिराज, हाट–मल्लादेही जोड्ने सडक र कुवाकोट–भटना सडक वर्षात्का कारण अवरुद्ध भएका हुन् । शाखा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । पुर्चौडी नगरपालिकाले अवरुद्ध रहेका शाखा सडक दशैँपछि मात्रै सञ्चालन हुने जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!