रोल्पाको थवाङमा पहिरोमा परी दुईको मृत्यु, चार पुरिएको आशंका

Posted on: 13 Sep, 2019

भदौ २७, रोल्पा | रोल्पाको थवाङ गाउँपालिका वडा नं २ छेर्लोबाङ झार्नैमा बिहीबार राति गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ। सोही घरमा बसेका अन्य चार जना पनि पुरिएको आशंका गरिएको छ।

गाउँपालिका वडा नं. २ नं. वडाअध्यक्ष बसन्त रोकाका अनुसार स्थानीय फिर कुमारी झाँक्री बुढामगरको घर पहिरोले पुरिँदा बुढामगर र उनका चार वर्षीय छोराको मृत्यु भएको हो।

सोही घरको तल्लो तलामा बसेका जई बुढामगरको चार जनाको परिवारको अवस्था अज्ञात रहेको वडाअध्यक्ष रोकाले जानकारी दिए। गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढामगरले बिहीबार राति ९-१० बजेदेखि ठूलो पानी परेको बिहान स्थानीय फिरकुमारी झाँक्रीको घर पुरिएको अवस्थामा देखिएकोले कुन बेला पहिरो गएको हो भन्ने भन्न नसकिएको जानकारी दिए ।

हाल दाङ रहेका वडा अध्यक्ष रोकाले चार वर्षीय छोरासँगै रहेकी फिरकुमारीको शव पुरिएको घरबाट निकालिएको र अरुको उद्धार भइरहेको जानकारी दिए। फिरकुमारीका श्रीमान् कमल बुढामगर रोजगारको लागि कुवेतमा छन्।

वडाअध्यक्ष रोकाले फिरकुमारीको घर पहिरो जाने जस्तो स्थानमा नभए पनि कसरी पहिरोले पुरियो आफूलाई पत्यार नलागेको बताए | पहिरोबाट स्थानीय फारम झाँक्रीले सञ्चालन गरेको गाईबाख्रा र भेंडाको गोठ समेत पुरिएको वडा अध्यक्ष रोकाले जानकारी दिए।

घटना थाहा पाएलगत्तै इलाका प्रहरी कार्यालय थबाङको एक टोली घटनास्थलतर्फ हिँडेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।  गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले स्थानीय सरकारका जनप्रतिनिधिलाई उद्धारमा लाग्न आग्रह गरेको बताएका छन् । घटनास्थल रोल्पा सदरमुकाम लिबाङवाट करिब २५ कोस उत्तरमा पर्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!