गृहमन्त्री बादलका भाइ हिरासतमा

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा हिरासतमा परेका छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन् |

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने कार्यमा नरेश जोडिएका छन्। उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्युरो प्रहरीले जनाएको छ |

‘गैरकानुनी रुपमा आपराधिक लाभ लिने आरोप पनि संगठित अपराध अन्तर्गतकै हो,’ ब्युरो प्रमुख शाहीको भनाइ छ। अहिले थापासँग काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ। विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो। ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीविरुद्ध नै मुद्दा लगिएको ब्युरोले जनाएको छ। 

गुन्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष गौचन हत्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीको भनाइ छ।

समीरमान जेलभित्रैबाट गैरकानुनी असुलीमा आफ्नो समूह प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरीले खड्का र नगरकोटीलाई पक्राउ गरेको थियो। उनीहरूले गृहमन्त्रीका साइँला भाइ नरेशको नाम लिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!