डोटीका तिन सडक कालोपत्र हुँदै

Posted on: 13 Sep, 2019

 भदौ २७, डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ । 

सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड््ने सिलगढी– झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । 

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र÷पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ । 

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ । 

पहिराले घर पुरियो, तीन बाख्रा मरे

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आज बिहान पहिराले एक घर पुरिएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गएरातिदेखि परेको वर्षाका कारण स्थानीय खण्टीदेवी केसीको घरमाथिबाट पहिरो आउँदा जस्ताले निर्माण गरिएको घर पुरिएको हो । पहिराले मानवीय क्षति हुन नपाए पनि निज केसीका तीन बाख्रा पहिरोमा परी मरेका छन् । 

पहिराले घर च्यापिँदा दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा निजका दुई बाख्राको जीवितै उद्धार गरिएको छ भने तीन वटा बाख्रा पहिरामा च्यापिएर मरेको अवस्थामा निकालिएको छ । पहिराका कारण उहाँको घरसहित करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । डोटीमा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!