पक्राउ परे विप्लव समूहका जिल्ला सेक्रेटरी

Posted on: 14 Sep, 2019

भदौ २८, बारा | नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका एसपी विकासराज खनालले जानकारी दिएका छन् ।

बाराका प्रहरी अधिकारीहरुका अनुसार जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको थियो । उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र उनीमाथि बिभिन्न मुद्दाहरु पनि रहेकाले पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ । मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतंकलगायतका आधा दर्जनभन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!