नवलपुर जिल्ला अस्पताललाई डेङ्गु परीक्षण किट

Posted on: 14 Sep, 2019

भदौ २८, नवलपरासी | मध्यविन्दु जिल्ला अस्पताललाई डेङ्गु परीक्षण किट प्रदान गरिएको छ । डेङ्गु परीक्षणका लागि किट अभाव भएपछि कावासोती नगरपालिकाले अस्पताललाई किट उपलब्ध गराएको हो । 

नगरपालिकाले अस्पतालमा आउने बिरामीलाई सहजरूपमा परीक्षण गर्न सकियोस् भनेर किट उपलब्ध गराएको कावासोती नगरपालिका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले बताउनुभयो । उपप्रमुख थारूले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टेकेन्द्र गौतमलाई १०० थान डेङ्गु परीक्षण किट प्रदान गर्नुभएको हो ।

अस्पतालमा प्रदेशबाट ५०, अस्पतालले खरीद गरेको २५ र जिल्ला स्वास्थ्य कार्यलयबाट पाँच किट प्राप्त भएकामा शुक्रबारबाट अस्पतालमा किट सकिएको थियो । किट सकिएपछि अस्पतालमा डेङ्गु परीक्षणमा समस्या भएपछि कावासोती नगरपालिकाले आज १०० थान किट प्रदान गरेको हो ।

मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आएका बिरामीमध्ये धेरैले डेङ्गु परीक्षणका लागि भन्ने गरेको भए पनि आफूहरुले अवस्था हेरेर मात्र परीक्षण गर्ने गरेको डा. गौतमले बताउनुभयो । 


कावासोतीमा हालसम्ममा १७ जना डेङ्गुका बिरामी फेला परेका छन् । डेङ्गुबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको स्वास्थ्य शाखा कावासोतीका प्रमुख विश्वराज कँडेलले बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि लामुखट्टेको बासस्थान खोज्ने, लार्भा नष्ट गर्ने अभियानलाई जोड दिइएको स्वास्थ्य शाखा कावासोतीका प्रमुख कँडेलले बताउनुभयो ।

नवलपरासीपूर्व नवलपुरमा डेङ्गुका बिरामी दिनप्रतिदिन बढ्दै गएको जिल्ला स्वाथ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख ख्याम केसीले जानकारी दिनुभयो । प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेङ्गुको सङ्क्रमण गैँडाकोट नगरपालिकामा देखिएको छ । गैँडाकोट नगरपालिकामा मात्र ५२ भन्दा धेरैमा डेङ्गुको सङ्क्रमण देखिएको छ । गैँडाकोट नगरपालिकासँगै देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा डेङ्गुको प्रभाव धेरै देखिएको प्रमुख केसीले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहमा  भने अझैसम्म कसैमा डेङ्गु भएको भन्ने जानकारी प्राप्त नभएको प्रमुख केसीले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!