भारतमा बैतडीका एक युवकको मृत्यु

Posted on: 15 Sep, 2019

भदौ २९, बैतडी । रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको एक युवकको शनिबार राति पानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशी रहेका छन् । 

काम सकेर डेरामा फर्कने क्रममा जोशी लडेर ट्याङ्कीमा खसेको सुदूरपश्चिमेली नेपाली समाज कर्नाटक राज्यसमितिका संस्थापक अध्यक्ष लिलाधर कपाडीले जानकारी दिनुभयो । मृतक जोशी बैङ्लोरस्थित एक होटेलमा कार्यरत थिए । उनी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए । 

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो ।  उक्त कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले रू ५० हजारका दरले रु एक लाख ५० हजार राहत उपलब्ध गराएको प्रजिअ आनन्द पौडेलले जानकारी दिनुभयो । 

वन कार्यालयका तर्फबाट पीडित परिवारलाई  तत्कालका लागि रु ५० हजार राहत दिने र पछि रू १० लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताउनुभयो ।   

यस्तै राहत वितरणका साथै  प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको थियो ।  अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण  गर्नुपर्ने वा मार्नका लागि अख्तियारी दिनुपर्ने माग गरेका थिए । प्रभावित क्षेत्रमा बिजुलीबत्ती पु¥याउन तथा तत्काल सोलारको व्यवस्था गर्न पनि माग गरिएको स्थानीयवासी वीरेन्द्र महताले जानकारी दिनुभयो ।

स्थानीयवासीको मागको सम्बोधन गर्दै प्रजिअ पौडेलले गृह मन्त्रालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागका विज्ञ टोली पठाउनका लागि आग्रह गरिएको बताउनुभयो । तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतङ्कका सम्बन्धमा पनि जिल्ला प्रशासनले चासो लिएकोसमेत उहाँले बताउनुभयो । 

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको  थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणवाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!