सुदूरपश्चिममा भूकम्पको धक्का

Posted on: 16 Sep, 2019

भदौ ३१, बैतडी | सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ ।  

नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो । 

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ । 

डोटीमा जङ्गली भालुको आक्रमणमा परी एक गम्भीर  

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । 

बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । भालुको आक्रमणमा परी गम्भीर घाइते भएका साउदलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भालुको आक्रमणबाट साउद अचेत अवस्थामा थिए, जिल्लामा उपचार हुन नसक्ने भएपछि बयलपाटा लगिएको हो ।” डोटीमा जङ्गली भालुको आक्रमणमा परी अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने करीब २४ जना घाइते भएको प्रहरीले जनाएको छ । 

पूर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड राष्ट्रिय निकुञ्जबाट वर्षेनी जङ्गली भालुलगायतका अन्य जनावरहरु गाउँघरमा आहारको खोजी गर्दै आउने र स्थानीयवासीलाई आक्रमण गर्ने गरेको बताइएको छ । 

मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनुभयो ।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ शाखा कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवा शुरु गरिएका जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन सिस्टममा लालपुर्जा राखिए न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोवार गर्न सक्दैन ।” यतिमात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजश्वबारे हिसाब गर्नसक्ने, कारोवार भए पनि मोबाइलमा जानकारी पाउने व्यवस्था मिलाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!