बैतडीमा गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै स्थानीय द्वारा विरोध

Posted on: 17 Sep, 2019

भदौ ३१, बैतडी | बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेसँगै स्थानीय बासिन्दाले विरोध गरेका छन् | डिलाशैनी गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ साविकको डिलाशैनी गाविसवाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् | 

वडा नं ४ र वडा वडा नं ७ का स्थानीय बासिन्दाले केन्द्र चलखेल भएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेका छन्। संघर्ष समितिको बैठकले मंगलवार गाउँपालिकाका सम्पर्क कार्यालय, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिति, सत्तारुढ नेकपा र नेपाली कांग्रेसको जिल्ला कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय गरेको छ। गाउँपालिकाको पहिलो बैठकले वडा नं ७ भित्र गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको भए पनि हाल आएर केन्द्र सार्ने चलखेल सुरु भएकोले आन्दोलित हुन बाध्य भएको स्थानीयको भनाई छ |

ज्ञापनपत्रपश्चात पनि गाउँपालिकाले कुनै सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामीले बताए। गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने राज्य पुनर्संरचना हुनुभन्दा पहिला साविकको डिलाशैनीमा अस्थायी रूपमा केन्द्र राख्ने निर्णय गरेको र पहिलो गाउँसभाले गाउँपालिकाभरी जुन ठाउँमा उपयुक्त ठहरियो सोही ठाउँमा केन्द्र राख्ने निर्णय गरेको बताए। गाउँपालिकाको केन्द्र कुन ठाउँमा उपयुक्त हुन्छ भनेर अध्ययनको लागि विज्ञ टोली बोलाउने निर्णय भएको र विज्ञ टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले निर्णय गर्ने स्पष्ट पारे। 

गएको १ वर्षदेखि गाउँपालिकाले वडा नं ३ पंसेरामा सम्पर्क कार्यालय राखी कामकाज गर्दै आएको छ। यसअघि वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा बसेको स्थानीयको भेलाले २१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो। संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामी, जनकबहादुर धामी र गणेश बहादुर धामीलाई चयन गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!