कृषि कार्यालयले समयमै वीउविजन उपलब्ध गराउन नसकेको कृषककोे गुनासो

Posted on: 03 Mar, 2016

१९ फागुन, प्रज्वल पौडेल, रामेछाप ।

 जिल्ला कृषि विकास कार्यालय रामेछापले समयमा नै माग अनुसारको वीउविजन उपलब्ध गराउन नसकेको कृषकहरुले गुनासो गरेका छन् । सेवा केन्द्रमा बढि उत्पादन हुने जातको वीउ, वीउ उत्पादन गर्ने कृषकलाई मात्र दिदाँ उन्नत जातको वीउविजन सबै कृषक सामू पुग्न नसकेको उनीहरुको भनाइ छ । बुधबार कृषि सम्पर्क केन्द्र खिम्तीले प्रवाह गरेको सेवाको गुणस्तरको विषयमा संचालन गरिएको सामुदायिक अंकपत्र अन्तर्गतको आमने–सामने बैठकमा सहभागि कृषकले यस्तो बताएका हुन् ।

salgp 5

सम्पर्क कार्यालयका कर्मचारी धेरै गाविसमा पुगेर सेवाग्राहीलाई सेवा दिन सम्भव नभएको भन्दै सम्पर्क कार्यलयलाई विस्तार गरी सेवा केन्द्रमा लैजानुपर्ने स्थानीय बद्री केसीले बताए । कृिष सेवा केन्द्र विस्तार भए कर्मचारीको दरबन्दी थप हुने र कृषकलाई सहज हुने उनको बुझाइ छ । केसिले भने – “कृषकलाई उन्नत वीउवीजन, विषादी प्रयोग तथा प्राविधिक ज्ञान दिनु आवश्यकता छ, यसको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । ” त्यस्तै सम्पर्क कार्यलय खिम्तीमा आउदाँ आफूहरुले परामर्स र माग अनुसारको विउवीजन पाइरहेको फुलासी गाविसकि कृषक कल्पना गिरीले बताइन् । उनले भनिन् “कार्यलयमा कर्मचारी न्युन छ, कार्यलयमा नियमित सम्पर्क गर्ने किसान सन्तुष्ट छन् तर टाढाका किसानले भने अझै सोचे अनुसार सेवा पाउदैनन् ।”

salgp 1

यस्तै कृषि कृषिसम्पर्क केन्द्र खिम्तीका प्रमुख महेन्द्र ओलीले कर्मचारी कम भएकाले फिल्डमा पुगेर सबै कृषकलाई सेवा प्रदान नभएपनि सम्पर्कमा आउनेलाई सेवा प्रदान गरेको बताए । उनले कार्यालयमा प्राप्त विउ विजनको प्रकृति हेरि कृषकलाई वितरण गरिरहेको बताए । ओलीले कृषकको माग अनुसारका तालीम दिन, समयमा नै वीउ विजन प्रदान गर्न र सम्पर्क कार्यालयलाई सेवा केन्द्रमा परिणत गर्न जिल्ला कृषि विकास कार्यलयमा अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Mahendra 1 प्राकृतिक स्रोत प्रबद्र्धन समाज मन्थलीको आयोजना तथा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा संचालन भएको कार्यक्रममा कृषि सम्पर्क केन्द्रबाट सेवा लिएका खिम्ती, गेलु, फुलासी र तिल्पुङका सेवाग्राही, स्थानीय राजनैतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहभागीले भावी दिनमा सेवाप्रदायक र सेवाग्राहीले सुधारको लागि कार्य योजना बनाएका छन् । उक्त कार्य योजनाहरु निरन्तर अनुगमनको लागि सेवाग्राही तथा सेवाप्रदायक रहेको गंगा दाहालको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । कार्यक्रममा सामुदायिक अंकपत्र संचालनको उद्देश्य, चरण तथा प्रक्रियाहरुको विषयमा साल्ज परियोजना रामेछापका जिल्ला संयोजक उमङ्ग मैनालीका जानकारी गराए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!