अब आर्थिक विकासमा जुट्नुपर्छः वरिष्ठ नेता खनाल

Posted on: 21 Sep, 2019

असोज ४, काठमाडाँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकाले अब आर्थिक विकासमा जुट्नुपर्ने बताउनुभएको छ । लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा सङ्ग्रहको विमोचन गर्दै उहाँले सिङ्गो मुलुक समाजवादी बाटोतिर अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “समाजवादतर्फ अघि बढ्न नीति, सिद्धान्त र व्यवहारले हाम्रो पार्टी स्पष्ट हुनुपर्छ ।” नेपाली समाजलाई दलाल पूँजीवादले नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले दुईतिहाई बहुमतको सरकारलाई पनि कर्मचारीतन्त्र र प्रशासनले नटेर्नु दुःखद् भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा नेकपाको सांस्कृतिक विभाग प्रमुख मणि थापाले पुस्तकले बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न सक्ने खतराप्रति सतर्क गराउन खोजेको बताउनुभयो । समालोचक तथा विश्लेषक प्रा डा गोपिन्द्र पौडेलले पुस्तकको विषयवस्तुमा विदेशी हस्तक्षेपका साथै समाजमा विद्यमान विकृति विसङ्गतिको विषयमा राम्रो चित्रण गरिएको बताउनुभयो । 

प्राध्यापक निर्मला पोखरेलले पुस्तकको समालोचना गर्दै भन्नुभयो, “तीन सयभन्दा बढी अनुसन्धानकर्ताको अध्ययन गर्नु, विश्वदेखि नेपाल भित्रका सयौँ अध्येयताको अध्ययन गर्नु चानेचुने कुरा होइन ।” लेखक भण्डारीले समाज परिवर्तनकै आधारमा सांस्कृतिक परिवर्तन हुने भएकाले सबैले अधुरो क्रान्ति आ–आफ्नो स्थानबाट पूरा गर्ने आधार तयार गर्नुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!