चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुंगा, इट्टा तथा रड प्रहार, उपचारको लागि काठमाडौँ ल्याइयो

Posted on: 28 Sep, 2019

असोज ११, चितवन | 'नेपालका लागि नेपाली' अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निर्घात कुटपिट गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा 'भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी' सभा गर्ने तय भएको थियो ।  

कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बेला सत्तारुढ दल नेकपाका युवाहरुको समूह कार्यक्रम स्थल पुगेर 'ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं' भन्दै नारा लगाएका थिए । त्यस क्रममा प्रहरी आइपुगेर नाराबाजी रोकेको थियो । 

सम्भावित झडपको स्थिति देखेपछि प्रहरीले  'भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी' सभा नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटेका थिए । 

कार्यक्रम गर्न नपाएपछि अभियान्ता शाहीको टोली गाडी मार्फत काठमाडौँ फर्कन लाग्दा चौविसकोठीको होटल ग्लोबलमा युवाहरुको समूहले आक्रमण गरेको थियो । 

शाहीलाई लक्षित गरी युवाहरुले अन्दाधुन्ध हातमा ढुंगा, इट्टा तथा रडले हानेका थिए । घटना भएपछि पुगेको प्रहरीले नेकपा आवद्ध एक जनालाई मात्र पक्राउ गर्न सक्यो । अरु युवाहरु भने भाग्न सफल भएका थिए ।

घटनापछि घाइते भएका शाहीलाई अस्पताल लागि शरीरको सिटी स्क्यान गराउदा गहिरो चोट लागेको नदेखिएको अस्पतालले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!