बढी भाडा असुल्ने ११ जना पक्राउ

Posted on: 03 Oct, 2019

असोज १६, काठमाडौँ | नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन बस्नेत, साजन श्रेष्ठ, प्रकाश मगर, टेकेन्द्र राई, अन्जन तामाङ, डेकेन्द्र राई, पूर्णप्रसाद शिवाकोटी र वीरबहादुर चौलागाईं रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वर र चाबहिलबाट बढी भाडा लिएर टिकट काट्ने विचौलियालाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र प्रभाग कोटेश्वरलाई बुझाइएको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ । 

चकलेट गोदाममा सिलबन्दी

गुणस्तरहिन चकलेट उत्पादन गरेको भन्दै चन्द्रागिरिस्थित एक चकलेट गोदाममा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले बजार अनुगमनका क्रममा गुणस्तरहीन चकलेट फेला परेपछि चन्द्रागिरि–१० स्थित सो चकलेट गोदाममा सिलबन्दी गरेको हो ।

उक्त टोलीले विनित अग्रवालले सञ्चालन गरेको ‘सुयस इन्टरनेशनल प्रालि’मा म्याद नाघेको, डबल स्टिकर टाँस गरिएको र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने चकलेट बजारमा पठाएका कारण सिलबन्दी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले म्याद नाघेको र गुणस्तरहीन चक्लेट फेला परेपछि गोदाममा सिलबन्दी गरिएको जानकारी दिनुभयो । म्याद नाघेका चार हजार कार्टुन चक्कलेट गोदाम भित्र बिक्रीका लागि पठाउने तयारी गरिएको अवस्थामा टोलीले गोदाममा छापा मारेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!