सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दै

Posted on: 11 Oct, 2019

असोज २४, पाल्पा | पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । 

रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताउनुभयो ।

“सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक पर्यटक पछिल्लो समय बढ्दै गएका छन्, भगवान् राम र सीतासँग जोडिएको पौराणिक महत्वका कारण पनि विशेषगरी टाढाटाढाका यो क्षेत्रमा अवलोकन गर्नका निम्ति आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

श्रीकृष्णाजन्माष्टमीका दिन श्रद्धालु भक्तजन रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा नुहाएर सीताकुण्डमा जल चढाई पुनःरामघाटमा गएर प्ूजाआजा गर्ने परम्परा छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।      

त्रेतायुगमा भगवान् रामचन्द्र र उहाँकी धर्मपत्नी सीता वनबास जाने क्रममा रामघाटमा आई बास बसेको पौराणिक कथन छ । सीता रजस्वला भएपछि उनलाई लुकाउन सीताकुण्ड लगिएको थियो । नुहाउने क्रममा पानी नभएपछि भगवान् रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरी त्यही कुण्डमा सीताले नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो । त्यस समयदेखि नै यहाँ पूजाआजा हुँदै आइरहेको छ । 

सीतालाई नुहाउनका लागि बाण हानेर पानी निकालिएको र खानका लागि धान छरेको बुढापाका बताउँछन् । कुण्डमा पानी कहिल्यै नसुक्ने स्थानीयको भनाइ छ । धार्मिक तथा ऐतिहासिक हिसाबले यसको महत्व रहे पनि प्रचारप्रसार तथा पूर्वाधार विकास नहँुदा ओझेलमा परिरहेको थियो । पछिल्लो वर्ष रामपुर नगरपालिकाले दश पर्यटकीय क्षेत्रका रुपमा समेटेर पूर्वाधार विकासका काम गर्न थालेपछि अहिले यो कुण्ड पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको हो । सीताकुण्डसम्म पुग्ने सडक सुधार, भौतिक पूर्वाधारको विकास हुँदै जाँदा मन्दिरमा भक्तजनको चहलपहल बढ्दो छ ।

कुण्डमा नुहाई भगवान्को दर्शन गर्नाले मोक्ष्यप्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । श्रीकृष्णा जन्माष्टमी पर्व, रामनवमी पर्वका अवसरमा यहाँ वर्षेनी मेला लाग्दै आइरहेको छ । 

यस वर्षको जन्माष्टमीका अवसरमा सात हजारभन्दा बढीले मन्दिर दर्शन तथा अवलोकन गर्न पुगेको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!