सिन्धुपाल्चोक दुर्घटना: ८१ घाइते घर फर्के

Posted on: 13 Oct, 2019

असोज २६, सिन्धुपाल्चोक | बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए । दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पुर्याइएको थियो ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ ।  ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन् ।  सात घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!