दाइजो नदिँदा हत्या, हातखुट्टा बाधेको अवस्थामा शव भेटियो

Posted on: 13 Oct, 2019

असोज २६, विराटनगर । भारतको जोगवनीमा नेपाली मूलकी युवतीको शव विभत्स अवस्थामा फेला परेको छ । हातखुट्टा बाधेको अवस्थामा विराटनगर– ११ पञ्चमुखी चोंक माइत भएकी २२ वर्षकी रञ्जना सहनीको परवाना नदीमा शव भेटिएको हो । 

स्थानीय मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जनाको गत फागुनमा भारतीय नागरिक भीम बहरदारसँग विवाह भएको थियो । विवाहमा मागेजती दाइजो नल्याएको भन्दै घरपक्षबाट मानसिक यातना भोगिरहेकी रञ्जनाको शव सिमावर्ती क्षेत्र जोगवनीदेखि करिब १० किलोमिटर दक्षिण अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै भेटिएको हो ।

आइतबार शव भेटिएपछि प्रहरीले मृतकका श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । माइती पक्षको उजुरीपछि भारतीय प्रहरीले मृतकका श्रीमान भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदारलाई पक्राउ गरेको हो ।

स्थानीय उमालाल सहनीका अनुसार रञ्जनाको गत फागुनमा अररिया जिल्ला तकिया निवासी २५ वर्षिय भिम बहरदार मागी विवाह भएको थियो । विवाहपछि दाइजोमा मोटरसाइकल मागेपछि सहनी परिवारले ९० हजार भारतीय रुपैयाँमा मोटरसाइकल किनिदिएको थियो । तर दाइजो नपुगेको युवतीलाई परिवारले मानसिक यातना दिइरहको सहनीले बताए । पछिल्लो समय बहरदार परिवारले पसल राख्न भन्दै युवतीको माइती पक्षसँग दुईलाख मागिरहेको थियो ।

केही दिन अघि माइत आएकी युवतीलाई श्रीमानले आएर लगेपछि हत्या गरेको माइती सहनीले बताए । सहनीका अनुसार खोलामा युवतीको शव भेटिदा हातखुट्टा बाँधेको अवस्थामा थियो । बिहिबार वा शुक्रबार हत्या गरी खोलामा फालेको शव आइतबार बिहान शौच गर्न जानेहरुले देखेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!