एनआरएनको मतदान स्थगित, मतदाता आक्रोशित हुँदै नाराबाजी

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौँ | भोटिङ मेसिनले काम नगरेका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित गरिएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको थियो ।

एक जना मतदाताले मतदान गरेपछि भोटिङ मेसिनले काम नगरेपछि मतदान स्थगित गरिएको हो । बुधबार साँझ ५ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियो । तर भोटिङ मेसिनमा समस्या आएपछि मतदाता आक्रोशित हुँदै नाराबाजी गरेका थिए । 

भोटिङ मेसिन बनाएपछि बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन:सुरु हुने बताईएको छ । 

एनआरएनएको अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् । विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता छ । एनआरएनएको ९ औं सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ । एननआरएनको ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!