फरार अठार अभियुक्त पक्राउ

Posted on: 21 Oct, 2019

कात्तिक ४, राजविराज ।  सप्तरी प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ  ।  

विभिन्न आपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार १४ अभियुक्त र अदालतबाट दोषी ठहर भई फरार चरा गरी १८ अभियुक्तलाई तीन महीनायता खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।

प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिटलगायतका अभियोगमा अदालतबाट सावित भए पनि सजाय भुक्तान नगरी फरार रहेका उनीहरुलाई  पक्राउ गरेको प्रहरी उपरीक्षक प्रसार्इंले जानकारी दिनुभयो ।

जसमध्ये ज्यान मार्ने उद्योगका पाँच, ठगीका एक, जबर्जस्ती करणीका चार, कर्तव्य ज्यानका दुई, सवारी अङ्गभङ्गका एक, सवारी ज्यानका उक, अपहरण तथा शरीर बन्धकका एक, चोरीका दुई र एक जना बोक्सी आरोपमा कुटपिट घटनाका अभियुक्त रहेका छन् । पछिल्लो पटक प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

यसअघि पनि प्रहरीले २०७६ असार ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका–१२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो । यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय अताहुसेन मियाँ र राजगढ गाउँपालिका–१ बस्ने ५५ वर्षीय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थिए । 

ज्यान मार्ने उद्योगमैै दोषी भई फरार हनुमाननगर कङ्कालिनी नगरपालिका–७ का मुगालाल महतो, धनश्याम महतो र श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानीमा कडा पारेको उहाँले जानकारी दिनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!