चितवनमा मात्र तीन महीनामा ३३ को मृत्यु

Posted on: 22 Oct, 2019

कात्तिक ५, चितवन | जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । 

यस्तै पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८/१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उहाँको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!