लेड (सिसा)को विषाक्तताबाट बालबालिकालाई जोगाउनुपर्ने

Posted on: 24 Oct, 2019

कात्तिक ७, काठमाडौँ | आम जनस्वास्थ्य र विशेष गरी बालबालिकामा प्रत्यक्ष असर पार्ने पेन्ट लेड (सिसा) को विषाक्तताबाट जोगिने उपायका बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्र एवं वन तथा वातावरण प्रवद्र्धन मन्त्रालयको सहकार्य र विश्व स्वास्थ्य सङ्गठनको को सहयोगमा पोखरा महानगरपालिकाले आज आयोजना गरेको लेडको मापदण्डको प्रभावकारी कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीका वक्ताले विशेषगरी लेडबाट बालबालिकालाई जोगाउनुपर्ने बताएका हुन् ।  

विश्व स्वास्थ्य सङ्गठनले लेड (सिसा) लाई विश्वव्यापीरुपमा असर पुर्याउने प्रमुख १० रसायनमध्ये एक प्रमुख घातक रसायनका रुपमा पहिचान गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले जानकारी दिनुभयो । लेडले मानिसको र खासगरी बालबालिकाको शारीरिक र मानसिक तथा बौद्धिक विकासमा अवरोध पु¥याउने र लेडको सम्पर्कबाट दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्या हुने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो । 

वार्षिक यसबाट पाँच लाख ४० हजार मानिसको मृत्यु हुने गरेको र १.३९ करोड मानिस शारीरिकरुपमा अशक्तता हुने गरेको तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो । उहाँले विसं २०७४ र २०७५ मा २७ पेन्ट्स उद्योगका ५६ वटा इनामेल पेन्टस्मा गरिएको मापदण्डको प्रभावकारितासम्बन्धी अध्ययनले मापदण्ड परिपालनको अवस्था ६० प्रतिशत मात्र पाइएको बताउनुभयो । 

पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले पोखरा सुन्दर र पर्यटकीय नगर, तालतलैयाको शहर भएकाले लेडमुक्त रंगरोगनको आयात उत्पादन र बिक्रीवितरण गर्ने पहल गरिने बताउनुभयो । 

कार्यक्रममा पोखरा औद्योगिक क्षेत्रका आरती पेन्ट उद्योगका निर्देशक सुरेन्द्र भुर्तेलले आफ्नो उत्पादन परिमार्जन गरी मापदण्डको परिपालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजुराम पोटे श्रेष्ठले लेडयुक्त पेन्ट उन्मूलका निम्ति विश्व स्वास्थ्य सङ्गठनबाट नेपाली जनस्वास्थ्य र वातावरणमा पर्ने लेडको असरको निराकरण तथा न्यूनीकरण गर्ने नेपाल सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारलाई सघाउने प्रतिबद्धता जनाउनुभयो । 

उपभोक्ता संरक्षण मञ्चका महासचिव राजुराम अधिकारीले लेडको विषाक्तताबारे जनचेतना फैलाउन र सरकारले तोकिएको पेन्टमा बाध्यकारी मापदण्डको पूर्ण परिपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेही पूर्ण पेन्टको उत्पादन, आयात, बिक्री वितरण र प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यशालामा अर्थमन्त्रालयका भन्सार विभागका वरिष्ठ रसायनशास्त्री मनोजनिधि वाग्ले, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वातावरण निरीक्षक भूपेन्द्र शर्माले लेडयुक्त पेन्टले मानव जीवनमा पार्ने असर र यसबाट जोगिने उपायका बारेमा प्रस्तुति राख्नुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!