देउसीभैलो गीतको विमोचन

Posted on: 25 Oct, 2019

कात्तिक ८, बागलुङ | बागलुङ मगर समाज काठमाडौँ उपत्यकाको आयोजनामा आज यहाँ तिहार विशेष देउसीभैलो गीतको विमोचन भएको छ । नजिकै आएको तिहारको अवसर पारेर मगर समाज वीरकोटको व्यवस्थापनमा शुभकामना आदानप्रदान कार्यक्रमका साथै दुई गीत विमोचन गरिएको थियो । 

मगर समाजले तिहारमा गाइने बलिहाङअर्थात् बलिराजाको सम्बोधन गरेर गाउने एक थरीको गीत र कालीनागअर्थात् भाइदिदीको महिमा झल्काउने गीत लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्वद्र्धनमा लागिपरेको समाजका समन्वयकर्ता यमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा आदिवासी जनजातिले गाउने मगर समुदायमा प्रचलित सोरठी गीतको पनि श्रव्यदृश्य देखाइएको थियो । “यो गीत विशेष गरी बागलुङ वीरकोटका मानिसले गाउने गरेका छौँ”, बुढाथोकीले भन्नुभयो । अन्तर्राष्ट्रिय मगर सञ्जालका अध्यक्ष खर्क रानाले नेपाली चाडपर्वको विषयमा जान्ने र बुझ्ने इच्छा रहेको हुँदा तिहारको अवसर पारी मातृभूमि आएको जानकारी दिनुभयो । मगर समुदायले तिहारमा बलिराजालाई अति नै मान्ने गरेको छ मगर समुदायमा रहेको मान्यतानुसार तिहारको महत्व एक किंवदन्तीमा आधारित छ । 

किंवदन्तीअनुसार तिहारको टीका लगाउन एक भाइ दिदीको घरमा जाँदा बाटामा एउटा कालीनाग भेट्छन् । त्यस नागले ती भाइलाई कहाँ जान लागेको भनी सोधेपछि भाइले म दिदीका घरमा तिहारको टीका लगाउन जान लागेको भनेछन् । कालीनागले ‘आज मलाई धेरै भोक लागेको छ । म तिमीलाई खान्छु । कहाँ दिदीको घरमा टीका लगाउन जाने’ भनिछन् । ती भाइले ‘हैन म दिदीको घर टीका लगाउन जान लागेको । मलाई खाने कुरा नगर’ भनेपछि कालीनागले मानिनछिन् । उनले जिद्दी गरेर ‘म तिमीलाई खान्छु’ भनेपछि  ती भाइले ‘म दिदीको हातको टीका लगाएर आउँछु अनि मलाई खानू’ भनी वाचाबन्धन गरी दिदीको घर टीका लगाउन गएछन् । भाइले अँध्यारो मुख लगाएर आएपछि दिदीले ‘के भयो ?’ भनी सोधिछन् । भाइले बाटामा भएको सबै कुरा बताए छन् । दिदीले ‘पीर नगर म तिम्रो चिन्ता हटाइदिन्छु’ भनी भाइटीकाको दिन दैलामा पाँच सेता रेखीका साथमा पाँच तेलको धर्कासमेत हालीछिन् । दिदीले भाइटीका गर्नुपूर्व नागको आँखा फुटाउने जुक्तिका साथ एउटा ओखर फुटाई टीका लगाइ दिइछन् । टीका सकेर भाइ मनमा चिन्ता लिँदै घर फर्र्केछन् । बाटामा फर्कंदाफर्कंदै उनले कालीनाग पाँच टुक्रा भएर मरेको देखेछन् । ‘दिदीले भनेको कुरा ठ्याक्कै मिल्न गयो’, भनी सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाए छन् । 

सो बेलादेखि मगर समुदायका मानिसले तिहारको महत्वलाई यसरी लिने गरेको वृद्ध बुढाथोकीले जानकारी दिनुभयो । कार्यक्रममा मगर समुदायमा प्रचलित ‘हाई मुरली हाँ’ र ‘फाइलो देउसुरे’ नामक दुई गीत गाइएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!