बैतडीकि पूजाले ८ वर्षपछि मुद्दा जितिन्

Posted on: 28 Oct, 2019

विनोद सिंह विष्ट | कात्तिक ११, बैतडी (रासस) | विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् ।  एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन् ।  

पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् । चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए । उनीहरु दुबैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।  सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन् – “न्याय पाउँछु भन्ने आश मरिसकेको थियो । ढिलै भए पनि न्याय पाएँ ।” 

गेसपेपर किन्न गएको सम्म याद छ उनलाई र त्यसपछि के भयो भन्ने थाहा छैन । उनले भनिन् – “गुमेको होश काठमाडौँमा उपचारपछि आयो । जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।”

जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी लागेको पूजा बताउँछिन् ।  उनले भनिन् – “न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुप¥यो ।” 

छ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुवाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए । पूजाका बुवा रामसिंहले भने – “छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो । आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।” 

घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले जीवनदेखि हार खाएन । लड्दै गए । सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुप¥यो । काठमाडौँमा छ वर्षसम्म रक्षा नेपाल संस्थाले जिम्मेवारी लिएको भए पनि पछि संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको दुःखेसो छ । “मलाई उक्त संस्थाले पढाइ र बासको व्यवस्था गरेको थियो,” उनले भनिन् – “पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखिदियो ।”

पूजा अहिले कानून विषयको स्नातक चौथो वर्षमा पढिरहेकी छन् । गएको दुई वर्षदेखि उक्त संस्थाबाट निस्किएर होस्टल बस्दैआएकी छन् । 

कलेज पढ्दा खेरि सात महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन् – “कलेजमा पनि सबै कुरा भन्नुपथ्र्यो म यस्तो समस्याबाट यहाँसम्म पुगेँ भनेर ।” दुई वर्षदेखि घरपरिवारले र दाङ तुलसीपुर घर भई हाल अमेरिकामा बस्दै आएकी लीला डांगीले आफूलाई सहयोग गर्दै आएका उनले बताइन् ।  

पूजा अझै पनि समाजमा घुलमिल हुन सकेकी छैनन् ।  समाजले आफूमाथि अझै पनि गलत दृष्टिले हेर्न गरेको उनले सुनाइन् र भनिन् – “घरबाहिर निस्कन समेत गा¥हो हुने गरेको छ । दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनःस्थापनाको ग्यारेण्टी हुनुपर्छ ।”

बलात्कार भएपछि घरपरिवार सबै छोड्नुपर्ने र गाउँ समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन नसकिने उनको अनुभव छ । अदालतले न्याय दिन ढिलाइ गरेको गुनासो गर्दै उनले भनिन् – “न्याय दिने कुरा त छिटो गर्नुपर्छ । न्यायमा राजनीति हुनुहुँदैन ।”

काठमाडौँस्थित चक्रवर्ती कानून कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत पूजाको न्यायालयमा जागीर खाने उद्देश्य छ ।

विसं २०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी उनलाई  लागुपदार्थ मिसाएको मिठाइ ख्वाएर बेहोस बनाई बलात्कार गरिएको थियो ।  बलात्कृत बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।  

घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै उनीहरूलाई प्रहरीले पक्राउ गर्यो र मुद्दा चलायो । बोहराका तर्फबाट २०६८ चैत १० गते प्रहरीमा उजूरी हालिएको थियो । 

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । बैतडी जिल्ला अदालतमा भट्ट र अवस्थीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । 

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०÷५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते उल्ट्याउँदै अभियुक्तद्वयलाई निर्दोष सावित गरेको थियो । त्यो फैसला सर्वोच्च अदालतमा पुगेर उल्टियो । 

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएको हो । उक्त मुद्दाको कात्तिक ७ गते बिहीवार किनारा लाग्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!