बैतडीमा निर्वाचन अधिकृत तोकिए

Posted on: 31 Oct, 2019

कात्तिक १४, बैतडी | आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ । 

निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । यसका साथै टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत रहनुभएका भण्डारीलाई सुर्नयामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो भने दोगडाकेदारमा टेकबहादुर थापा र पुर्चौडीमा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो । 

बैतडीको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ का उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएसँगै कात्तिक २० गते सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाउने भएका छन् । 

यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तीनवटै वडामा आफ्ना उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली काङ्ग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्ना उम्मेदवार सिफारिस गरेको छ । यसका साथै अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!