जाडो छल्न बँेसी झर्दै डोल्पाली

Posted on: 02 Nov, 2019

हेमन्त केसी, कात्तिक १६, जाजरकोट । चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बँेसी झर्न थालेका छन् । दशैँ, तिहार जस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका स्थानीयवासीहरु तातोको खोजीमा जिल्ला छोड्न थालेका हुन् । कर्णालीका जिल्लाहरुमा दिन प्रतिदिन चिसो बढ्दै जाँदा हिमपात हुने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बढ्न थालेपछि आजभोलिको घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका–७ का स्थानीयवासी नवराज शाहीले बताउनुभयो । तल्लो डोल्पाभन्दा माथिल्लो डोल्पाका अधिकांश स्थानीयवासी बँेसी झरिरहेको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले बताउनुभयो ।  

मङ्सिर, पुस र माघको तीन महीनाको जाडो छल्नका लागि जाजरकोट, नेपालगञ्ज, काठमाडाँै, सुर्खेत लगायतका जिल्लामा यहाँका स्थानीयवासी जाने गर्दछन् । अहिले डोल्पाको जुफाल विमानस्थलमा बँेसी झर्नेको ठूलो भीड रहेको छ । प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।

कर्णालीवासीको जाडो छल्न झर्ने शहरहरुमध्ये काठमाडाँै प्रमुख रोजाइमा पर्ने गर्दछ । यतिखेर जाडो मौसम शुरु भएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि काठमाडाँै धेरै जाने गरेका हुन् । जाडो छल्न तराई झरेका डोल्पावासी फागुन महीना लागेपछि मात्रै घर फर्केर यार्सागुम्बा सङ्कलनतर्फ लाग्छन् । 

हिँउदको मङ्सिर, पुस र माघमा चिसोका लागि फुर्सद निकालेर बँेसी झर्ने उपल्लो डोल्पावासी कात्तिक महीनाभरि हिँउदेबालीका रुपमा रोपिने गहुँ, जौ, उवा लगायतका अन्नबालीहरु लगाइसक्ने गर्छन् । केहीले हिँउदमा भारी हिमपात भई चिसोले घरबाहिर समेत निस्कन नसकिने भएकाले आगो ताप्नका लागि कात्तिकमा गुइँठा, दाउराको जोहो धेरै हुने गर्दछ । चिसोमा घट्ट तथा मिलहरुमा जानसमेत समस्या हुने भएकाले खाद्यान्नको समस्या नहोस् भनेर कात्तिकमै धेरै परिमाणमा खाद्यान्न कुटानी–पिसानी किनमेल गर्दछन् । 

सरकारी कार्यालय फुर्सदमा 

जाडो सयममा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कम हुने र कर्मचारी पनि फुर्सद हुने गरेको छ  । उपल्लो डोल्पामा रहेका छ वटा प्रहरी चौकीसमेत सदरमुकाम दुनैमा आइसकेको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताउनुभयो । उपल्लो डोल्पाका तीन वटा स्थानीय तहको कामसमेत सदरमुकाम दुनैमा हुने गर्दछ । जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरु कर्मचारीविहीन हुने गर्दछन् । कतिपय कार्यालयहरु सहयोगीको भरमा चल्दछन् । कर्मचारीहरु जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारीविहीन हुने गरेका हुन् । कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरुसमेत जाडो छल्ने बहानामा घुमघामका लागि तराईका जिल्लामा जाने गर्छन् । 

उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा आएर स्थायी बसोबास गर्दा भूगोल जिल्लामै दुई क्षेत्रमा विभाजित छ । जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसाधारण तल्लो क्षेत्रमा भन्दा धेरै चिसो हुने भएकाले छ महीनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बँेसी झर्ने गर्दछन् । 

यतिखेर आर्थिक रुपमा मजबुद भएकाहरु भने काठमाडाँै, पोखरा, नेपालगञ्जलगायतका शहरमा जाने र आर्थिक अवस्था  कमजोर सर्वसाधारण चिसो कम हुने ठाउँ खोज्दै तल्लो क्षेत्रमा झर्छन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरुसँग साटासाट गरेर आयआर्जन गर्ने गर्दछन् ।

डोल्पामा दुई प्रकारको शैक्षिक सत्र लागू हुँदै आएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिकामा पर्ने सम्पूर्ण विद्यालयहरु चिसो समयमा बिदा हुन्छन् ।  उपल्लो डोल्पाका विद्यालय वैशाख मात्रै खुल्ने गर्दछन् । तल्लो डोल्पाका सम्पूर्ण विद्यालय पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलो साता खुल्नेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!