सहकारीको ४३ करोड हिनामिना गर्ने चारजना कारागार चलान

Posted on: 04 Nov, 2019

कात्तिक १८, राँझा ।  ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । 

जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो ।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु २० लाख धरौटी मागिएको छ । बज्राचार्य रु २० लाख नगद धरौटी बुझाएर रिहा हुनुभएको छ भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिएपनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी छ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन् ।

बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी रु ५२ करोडबाट रु ४३ करोड अपचलन भएको दाबी गरिएको छ ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!