बझाङको बुङ्गलमा निर्माणाधिन कालंगा जलविद्युतको सुरुङमा चार जना मजदुर बेपत्ता

Posted on: 04 Nov, 2019

धुर्व बिस्ट | कार्तिक १८, बझाङ | बझाङको बुङ्गल नगरपालिकामा निर्माण भइरहेको कालंगा जलबिद्युत् आयोजना अन्तर्गत वडा नं १ दहबगरमा निर्माणाधिन अवस्थामा रहेको  कालङ्गाजलबिद्युत् आयोजनाको सुरुङमा चार जना मजदुर बेपत्ता भएका छन् । 

आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिकाको कलङगा नदीको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् | बेपत्ता हुनेमा दैलेख जिल्लाका कर्ण बहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल सहायक चेकपोस्ट विजगडाका प्रहरी सहायक निरिक्षक अम्मर भण्डारीले जानकारी दिएका छन् |

साथै उनीहरु सुरुङभित्र काम गर्नको लागि गाडी सहित सुरुङभित्र पसेका र काम गर्ने क्रममा एक्कासी गाडी स्टार्ट बन्द भएपछि काम गरि रहेका उनीहरुलाई अक्सिजनको अभावका कारण बाहिर आउन नसकेको आशंका गरिएको छ ।

उनीहरुको खोजीका लागि सुरुङभित्र प्राविधिक टिम लागि परेपनि सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रहेकोे भन्दै फर्किएको छ । अब केही बेरमा उनीहरुको खोजीका लागी हेलिकप्टर मार्फत मेसिन सहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजी गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ | यस बिषयमा कालङ्गा हाईड्रोपावर निर्माण समितिका संस्थापक संञ्चालक बिरेन्द्र मल्लले आफु घटना स्थल तर्फ आउदै गरेको भन्दै कुनै प्रतिक्रिया दिएका छैनन् |

सुरुङको ७० प्रतिशत भन्दा बढी काम भईसकेकोले बाँकी काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरुको खोज कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!