प्रविधि पछ्याउँदै किसान

Posted on: 05 Nov, 2019

कात्तिक १९, बागलुङ । गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो । 

उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र  पराल बोक्न ट्र्याक्टर तथा खेत जोत्न यान्त्रिक हलो प्रयोग गरे । फाँटमा न गोरु देखिए न कतै दाइँ गरेको पाइयो । किसानले धान काट्न र झाँट्न भने खेताला लगाए अर्थात् परम्परागत सीप नै अपनाए । “पहिले दिनभर धान काटेर र झाँटेर रातारात परालको दाइँ पनि फालिन्थ्यो”, स्थानीयवासी बाबुराम थापाले भन्नुभयो, “अहिले त खेतमा गोरु देखिन नै छाडे, गाउँमा खेताला पाउन नै गाह्रो छ ।” रोपाइँदेखि, गहुँ, मकै, कोदोलगायत बाली लगाउँदा यान्त्रिक हलो नै प्रयोग हुन्छ । खेतबारी जोत्न आधुनिक प्रविधि भित्रिएपछि गोरु पाल्ने चलन हराउन थालेको छ । वर्ष दिनसम्म गोरु पाल्ने खर्च र दुःखभन्दा यान्त्रिक हलो सस्तो पर्ने उहाँको भनाइ थियो । 

आधुनिक प्रविधिले पम्परागतखेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समय पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला  पनि पाइन छाडेका बेला आधुनिक औजार तथा उपकरणले किसानलाई राहत मिलेको छ । यान्त्रिक हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा यस्ता हलो खरिद गरेर कृषिको यान्त्रीकरणमा टेवा पु¥याइरहेका छन् । स्थानीय सूर्य थापाले रु दुई लाख खर्चेर छ महिनाअघि ‘मिनिटिलर’ किन्नुभएकामा उहाँ अहिले यसकै काममा बेफुर्सदिलो हुनुहुन्छ । खेतमा गहुँ छर्न ‘मिनिटिलर’ को दैनिक माग आउन थालेको छ । 

“खेती लगाउने याममा त भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो, “एक घण्टा जोत्दा रु एक हजार आउँछ ।” एक हल गोरुले दिनभरमा जोत्ने खेत ‘मिनिटिलर’ले एक÷डेढघण्टामै जोत्ने गरेको छ । व्यावसायिक कृषि गर्ने यहाँका थुप्रै किसानले ‘मिनिटिलर’ खरीदमा सरकारी अनुदानसमेत पाएका छन् । गलकोट नगरपालिकाले गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा ३९ ‘मिनिटिलर’ वितरण गरेको थियो । प्रदेश सरकारबाट प्राप्त रु ५६ लाख पनि आधुनिक प्रविधियुक्त कृषि र पशु ‘फार्म’मा खर्च गरेको थियो ।

“कृषिको यान्त्रिकीकरण विस्तारै बढ्दै छ, किसान पनि व्यावसायिक कृषितिर आकर्षित छन्”, नगरपालिकाको कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले भन्नुभयो, “कृषि क्षेत्रलाई सीप र प्रविधियुक्त बनाउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छौँ । ”  यान्त्रिकीकरणले लागत घटाउने र उत्पादन बढाउने उहाँको भनाइ थियो ।पछिल्लो समय कृषिमा उन्नत प्रविधिको प्रयोग बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त केन्द्रले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तरण तथा विकासका कार्यक्रम चलाउँदै आएको छ । परम्परागत कृषि प्रणालीलाई सुधारेर कृषिलाई व्यावसायिक बनाउने व्यक्ति, समूह, सहकारीलाई अनुदानमा उपकरण प्रदान गर्ने गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!