उपनिर्वाचन २०७६ : ‘रवीन्द्रले जस्तै सबैको मन जित्नू’

Posted on: 12 Nov, 2019

कात्तिक २६, पोखरा । ‘रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौँ,’ विद्या भट्टराई अधिकारीलाई एक ज्येष्ठ नागरिकले दिएको आशीर्वाद हो, यो ।

पोखरा–२१ र १७ को सिमानामा रहेको फुस्रेखोला पुलको मुखमा स्वागतका लागि उपस्थित जनताको बीचबाट ९३ वर्षीय छवि पहारीले नेकपाका उम्मेदवार विद्याको शिरमा हात राखेर भन्नुभयो, “रवीन्द्र र जनताको सपना पूरा गर्ने जिम्मेवारी अब तिमीमा आएको छ ।”  

पोखरा–२१ लगायतले समग्र पोखराको विकास निर्माणमा रवीन्द्रको महत्वपूर्ण योगदानको स्मरण गर्दै स्थानीयवासी हरि अधिकारीले रवीन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको सुनाउनुभयो ।

कम्युनिष्टले बीउ रोपेर मलजल गरेको पोखराको ऐतिहासिक एवं रमणीय स्थान निर्मल पोखरी र कृष्ती नाच्नेचौरको सडक, खानेपानी, विद्युतीकरणलगायतका विकास निर्माणमा रवीन्द्रको योगदान जनताले कहिल्यै नभुल्ने उहाँको भनाइ थियो ।

घरदैलो कार्यक्रमपश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार विद्या भट्टराई अधिकारीले जित हासिल गरेपछि जनचाहनालाई शिरोपर गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

परिवार र पार्टीले दिएको ज्ञान अँगालेर जनताकै हितमा जीवन समर्पण गर्ने बताउँदै उहाँले भन्नुभयो, “जनता र राष्ट्रभन्दा माथि कोही छैन, जसको निम्ति म कुनै पनि चुनौतीको सामना गर्न तयार छु ।”रवीन्द्र अधिकारीले देखेका अधुर सपना पूरा गर्न आफूलाई पार्टीले उम्मेदवार बनाएको बताउँदै उहाँले त्यसका लागि सबै जनताको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण थापाले नेतृत्व र कार्यकर्तातह सङ्गठित भएर लाग्न सके मात्र जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै योग्य, सक्षम, युवा र प्राज्ञिक व्यक्तिलाई नेकपाले उम्मेदवार बनाएको बताउनुभयो ।

प्रदेशसभा सदस्य तथा युवानेता राजीव पहारीले मुलुकका तीनै तहका सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जुटेको उल्लेख गर्दै सरकारले गरेको उपलब्धिलाई जनतासमक्ष पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा–२१ का वडाध्यक्ष खगराज आचार्य, नेकपा पोखरा–२१ का अध्यक्ष कृष्ण थापामगरलगायतका नेता एवं कार्यकर्ता जनताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त हुनुहुन्थ्यो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएसँगै उपनिर्वाचन हुन लागेको यो मुलुकको एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी दर्तासँगै निर्वाचन क्षेत्रअन्तर्गत पोखराका ११ वटै वडामा निर्वाचन सम्पर्क कार्यालयसमेत स्थापना गरी नियमित सञ्चालन गर्दै निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!