हल्का वर्षाको सम्भावना

Posted on: 16 Nov, 2019

कात्तिक ३०, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली रहनेछ”, उहाँले भन्नुभयो । 

राति देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, पूर्वी र मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । 

सोमबार देशका पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.३ डिग्री सेल्सियस रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!