श्रमिकको सुखद् भविश्यका लागि सामाजिक सुरक्षा : मन्त्री विष्ट

Posted on: 16 Nov, 2019

कात्तिक ३०, काठमाडाँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकलाई सम्पूर्ण सुरक्षा प्रदान गर्न योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको भन्दै सहभागिताका लागि आग्रह गर्नुभएको छ । 

मानव संशाधन समाज नेपालको सहकार्यमा सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषः अन्तिम समय सङ्केत’ विषयक छलफलमा उहाँले श्रमिकको सुखद् भविश्यका लागि योजना ल्याइएको प्रष्ट पार्नुभयो । “नेपालमा सरकारी सेवामा मात्र निवृत्तिभरण प्राप्त गर्ने अवस्था छ”, मन्त्री विष्टले भन्नुभयो, “अब निजी क्षेत्रका कामदारले पनि वृद्धावस्थामा निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ ।”

कोषमा आबद्ध भएपछि दुर्घटनामा परेका श्रमिकका परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेको जानकारी दिँदै उहाँले अब श्रमिकको परिवारको अनिश्चित भविश्यको अन्त्य भएको बताउनुभयो । संविधानले नै प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हकको प्रत्याभूति गराएको अवस्थामा सबै श्रमिक सामाजिक सुरक्षामा सहभागी हुुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।

सामाजिक सुरक्षा योजना सरकारको मात्र नभएर आमश्रमिक, जनता र देशकै साझा अभियान भएको उल्लेख गर्दै मन्त्री विष्टले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । “सबै श्रमिक योजनामा सहभागी हुनुपर्छ, यो आम श्रमिकको हितमा छ”, योजनाको महत्व बुझाउँदै मन्त्री विष्टले भन्नुभयो, “अब यो योजना जनताको हितमा छ भनेर अभियान चाल्नु आवश्यक छ ।”

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योजनामा सहभागिताबाट योगदानकर्ताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराउनुभएको थियो । कोषमा हालसम्म करीब १० हजार प्रतिष्ठान र एक लाख १० हजार श्रमिक सूचीकृत भइसकेका छन् ।

झण्डै रु १४ करोड योगदान रकम सङ्कलन भइसकेको कोषले जनाएको छ । कोषमा योगदान शुरु गरेर मृत्यु भएका दुई श्रमिकको परिवारले आर्थिक सहायता प्राप्त गर्न थालिसकेका छन् । आगामी मङ्सिर १४ गतेसम्म कोषमा सूचीकृत हुने समयावधि तोकिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!