बैदेशिक रोजगारी: आगामी तीन बर्षसम्म कतार र युएईबाट माग बढ्दै

Posted on: 25 Nov, 2019

मङ्सिर ९, काठमाडौँ | आफ्नो देशमा रोजगारीको अवसर नपाएपछि नेपालबाट बैदेशिक रोजगारीमा जान युवाहरु बाध्य छन् । यसै सन्दर्भमा अबको तीन बर्षसम्म बैदेशिक रोजगारीमा कतार र युएईमा पहिलेको तुलनामा भन्दा बढी कामदारहरुको माग हुने बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् । 

युएईमा हुन लागेको दुबई एक्स्पो २०२० को लागि बिदेशी कामदारको माग बढेको र कतारमा २०२२ मा हुने विश्वकपका लागि बिदेशी कामदारको माग बढ्ने बताइएको छ । यी दुई देशबाट बिशेष गरि होटल लाइन र क्लिनर पदमा रोजगारीको लागि बिदेशि कामदारको माग हुने म्यानपावर व्यवसायीहरुले जानकारी दिएका छन् । कतारमा हुन लागेको विश्वकपको लागि सुरक्षाकर्मीको ठूलो शंख्यामा माग आउन सक्ने आंकलन गरिएको छ । पछिल्लो समय युएइ र कतारबाट होटल लाइनमा अन्य समयको तुलनामा माग बढ्दै गएको बैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् । 


एक म्यानपावर व्यवसायीका अनुसार नेपालबाट कतार र युएईमा बर्षेनी ठूलो शंख्यामा नेपाली कामदार गईरहेकाले अबको अवसर पनि नेपालीहरुकै लागि हुने बताए । उनले यसै अवसरलाई सदुपयोग गर्न २०२२ सम्म आफूले म्यानपावर व्यावसाय गर्ने र त्यसपछि छाड्ने सोच बनाएको बताए । ति व्यवसायीले नेपाली कामदारलाई सम्बन्धित देशहरुले अन्य देशका कामदार भन्दा राम्रो मानेकाले पनि नेपाली कामदारहरुले उक्त अवसर पाउन सक्ने बताए । विदेशबाट नेपालीहरुको बिभिन्न पदमा माग भएपनि नयाँ कामदारका रुपमा म्यानपावर धाउने युवाहरु सम्बन्धित काममा दक्ष नभईदिँदा समस्या भईरहेको ति व्यवसायीले बताए । कतार तथा युएईका ठूला होटलहरुबाट माग आउँदा अन्तर्वार्ता लिन आएका सम्बन्धित कम्पनीका अधिकारीहरुले खोजेजस्तो कामदार फेला पार्न नसकिएको भन्दै गुनासो गर्ने गरेको उनको भनाई छ । 

नेपालबाट बैदेशिक रोजगारीको क्रममा दुईतिहाई भन्दा बढी कामदार सिप नसिकी बैदेशिक रोजगारीमा जाने गरेको कारण आकर्षक तलब र सुविधा पाउन नसकेको बुझिएको छ । यसै बिषयलाई ध्यान दिंदै बैदेशिक रोजगार विभागले गत असार १५ देखि बैदेशिक रोजगारीमा जाने युवाहरुलाई अनिवार्य सिपमुलक तालिम लिनुपर्ने नीति लिएपनि बिबिध कारण हालसम्म उक्त नीति लागु हुन सकेको छैन । 

सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम ३० दिने (१६० कार्यघण्टा) सीपमूलक तालिम अनिवार्य लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको थियो । तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने अधिकारीहरुको निष्कर्ष थियो । 

कुनै सिप नसिकी बैदेशिक रोजगारीमा युवाहरु जाँदा त्यसको प्रत्यक्ष असर देशको रेमिट्यान्समा र बैदेशिक रोजगारीमा गएको व्यक्तिको जीवन निर्वाहमा समेत पर्छ । कुनै सिप, भाषा सम्बन्धि ज्ञान र कामको अनुभव भएको व्यक्तिले बैदेशिक रोजगारीका क्रममा राम्रो काम र तलब पाउने गरेको, नेपालबाट कम तलबमा गएपनि विदेशमा गएर पद बढुवा भई राम्रो कमाई गर्न सकेको तथा बिदेशमा दक्ष कामदारले स्वदेशमा फर्किएर आफ्नै व्यवसाय गर्न समेत तत्पर देखिएको अधिकारीहरुको भनाई छ । बिशेष गरि होटल/हस्पिटालिटि लाइन, निर्माण कार्य, सेल्स वा आईटि क्षेत्रमा युवाहरुको माग सर्वत्र भईरहेको र त्यस्ता सिप भएका युवाहरुले स्वदेशमै पनि बिभिन्न अवसरको सदुपयोग गर्नसक्ने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!