मङ्सिर १७, रामपुर । खानेपानीको समस्या रहेको पाल्पा, तिनाउ गाउँपालिकामा लिफ्टिङ्मार्फत खानेपानी सुविधा पु¥याइने भएको छ । वर्षौँदेखि करीब एक घण्टा उकालो ओरालो गरी डोकामा पानी बोकेर जीविकोपार्जन गर्दै आएका त्यस क्षेत्रका नागरिकको समस्यालाई ध्यानमा राखी आफ्नो तहले खानेपानीको योजना ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा उपभोक्ताको जनश्रमदान गरी करीब रु दुई करोड १६ लाखमा लिफ्टिङ् सिष्टमबाट पानी तानेर गाउँभरि सुविधा दिइने लक्ष्य छ । गाउँपालिका वडा नम्बर ६ का प्रत्येक घरमा एक घर एक धारा उपलब्ध गराइने छ । अध्यक्ष घर्तीले ,भन्नुभयो, “ प्रत्येक धारामा मिटर जडान गरी नुहाउने तथा धुने गरेर खेर गएको पानीलाई करेसाबारीमा प्रयोग गरी अनिवार्य तरकारी उत्पादनमा समेत जोड दिनुपर्छ । ”
वडाका ८० घरधुरीमा सुविधा हुनेपछि सबै दङ्ग भएको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष रेवन्त रासकोटीले बताउनुभयो । “बिहान उठेर पानी लिन जाँदा समय त्यतै खर्च हुने, गाईवस्तुलाई खुवाउन कपडा धुन, नुहाउन समेत समस्या हुने, सिंचाइको कुरा त परको भो”, रासकोटीले गुनासो गर्नुभयो । उहाँले गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएपछि जनश्रमदान गर्न आफूहरु उत्साहित भएको बताउनुभयो ।
घर नजीकै तरकारी लगाउन मन भएर पनि सिंचाइ असुविधा हुँदा त्यस क्षेत्रका नागरिक समस्यामा छन् । अब भने गाउँपालिका तथा प्रदेशले खानेपानी सुविधासँगै सिंचाइको समेत सुविधा पु¥याउने योजना गरेका छन् । बजेट विनियोजन भएर उपभोक्ता समिति गठन भएसँगै समयमै खानेपानी सुविधा पाइन्छ भन्नेमा यस क्षेत्रका नागरिक ढुक्क छन् ।
प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले खानेपानीको असुविधा रहेको ठाउँमा सिंचाइ तथा खानेपानीको सुविधा गाउँपालिकासँग प्रदेश सरकारको साझेदारीमा दिन लागिएको बताउनुभयो । गाउँकै सेनाघाटबाट तानिएको पानी शिखरडाँडा र भुटुक्डी गाउँका नागरिकलाई दिइनेछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!