घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

Posted on: 06 Dec, 2019

मङ्सिर २०, काठमाडौँ | यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पुर्याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उहाँलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख र सम्मान पत्र रहेको छ । 

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७ औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो । नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नास्टले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो । 

नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो । कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गर्नुभयो ।

विसं २०७३ भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको विद्युत्भार कटौती अन्त्य गर्नुभएको थियो ।  आर्थिक वर्ष (आव) २०७२/७३ मा वार्षिक रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणको वित्तीय र प्रशासनिक सुधार तथा पुनःसंरचनामार्फत त्यसपछिका आवहरु २०७३/७४ मा रु एक अर्ब ५० करोड, २०७४/७५ मा दुई अर्ब ९० करोड र २०७५/७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । 

विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । आव २०७२/७३ मा विद्युत् प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत बिन्दुले घटाएर आव २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको हो । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाइ, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेशनको स्तरोन्नति तथा सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!