चितवनमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

Posted on: 16 Dec, 2019

मंसिर ३०, चितवन | पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नम्बरको ट्रक बिहान करिब साढे सात बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ना५ख ८७४३ नम्बरको ट्रकका चालक लोप्चनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ना६ख ७९६७ नम्बरको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ | तीन जनाकै अवस्था मध्यम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!