भ्रमण वर्ष सफल पार्न अन्तरक्रिया

Posted on: 18 Dec, 2019


पर्वत । नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेश सरकारको आन्तरीक भ्रमण वर्षलाई सफल पार्नको लागि पत्रकारसँग गण्डकी प्रदेश सरकारले अन्तरक्रिया गरेको छ । भ्रमण वर्ष सफल बनाउन पत्रकारको भूमिका विषयमा पर्वतमा रहेका कृयाशिल पत्रकारसँग गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सहभागीहरुले पर्वतको पहिचान झल्कने गरि भ्रमण वर्षलाई लक्षित गरी स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लामा आउने पर्टकहरुको तथ्याङ्क संकलन अझसम्म कुनै पनि निकायले नगरेको भन्दै सरोकारवालाहरुले गुनासो समेत गरेका छन् ।

जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक महत्वका स्थलहरुको पहिचान झल्कने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको पत्रकारहरुले सुझाब दिएका छन् । दक्षिण एसियाकै दोस्रो ठूलो बन्जी जम्प, स्काई साइकिलिङ, अग्ला र लामा चार झोलुङ्गे पुल, गुप्तेश्वर, अल्पेश्वर, लालेश्वर, पार्वती गुफा, मल्लाज दरबार, हम्पालको लेक, डहरेको लेक, कालाञ्जार पर्वत, र्पैयूँकोट, दुर्लुङकोट, एसियाकै ठूलो महाशिला, एसियाकै ठूलो शालिग्राम शिला लगायतको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रचार गर्न आवश्यक रहेको पत्रकारले सुझाब दिएका छन् ।  धार्मिक तथा पर्यटकीय क्षेत्रहरु धेरै पनि त्यस स्थलसम्म पुग्नको लागि आवश्यक भौतिक पूर्वधारको विकास पूर्णरुपमा भइनसकेको र आवश्यक होटलहरुको अभावका कारण पर्वत ओझेलमा परेको भन्दै सचेतना अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!